काठमाडौँ । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजदेखि सुरु हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देशभरका नेता, महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ता बिहानैदेखि कार्यक्रमस्थलमा पुगेका छन्। विभिन्न जिल्लाबाट रातिकै समयमा बस रिजर्भ गरी आएका सहभागीहरू गेट बाहिर लामो समयसम्म भीडमा देखिएका छन्।
एमाले भक्तपुरका अध्यक्ष बचन देउजाका अनुसार महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल, ध्वनि तथा प्रकाश व्यवस्था, एलइडी स्क्रिन, बसाइँ तथा अन्य भौतिक संरचनाको काम समयमै सम्पन्न भइसकेको छ। उद्घाटनस्थललाई व्यवस्थित बनाउन र सुरक्षा जाँच कडाइका साथ गर्न बिहान १०ः३० बजेसम्म गेट बन्द गरिएको र ११ बजेदेखि सहभागीलाई प्रवेश दिइएको उहाँले जानकारी दिनुभयो।
महाधिवेशनको औपचारिक उद्घाटन आज दिउँसो १२ः३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको प्रतिकात्मक संरचनाको छेउमा राखिएको विद्युतीय पालो रिमोटमार्फत बालेर गर्ने कार्यक्रम तय गरिएको छ। ११औँ महाधिवेशनको अवसरमा ११ वटा पार्टी झण्डामध्ये १० वटा पहिल्यै फहराइने र एउटा झण्डा रिमोटबाट फहराइने व्यवस्था गरिएको छ।
सुरक्षालाई उच्च प्राथमिकता दिँदै उद्घाटनस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकका प्रहरी गरी करिब २ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार बम डिटेक्टर उपकरण र तालिम प्राप्त कुकुरसहितको टोलीले मञ्च, सभास्थल तथा आसपासका क्षेत्रमा सूक्ष्म जाँच गरेको छ। कार्यक्रमस्थल र वरपर ५० भन्दा बढी सिसी क्यामरा जडान गरी निरन्तर निगरानी भइरहेको छ।
महाधिवेशनमा सहभागी हुन भक्तपुरका चारवटै नगरपालिकाबाट गाउँगाउँदेखि र्याली सुरु भएका छन्। विभिन्न जातजाति, भेषभूषा, बाजा, झाँकी र नृत्यसहितका र्यालीहरू कार्यक्रमस्थलतर्फ अगाडि बढेका छन्। अन्य जिल्लाबाट आउने र्यालीहरू पूर्वतर्फ जगाती र पश्चिमतर्फ गठ्ठाघर हुँदै कार्यक्रमस्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ।
महाधिवेशन जनपरिचालन समितिका अनुसार यस महाधिवेशनमा २ हजार २६२ प्रतिनिधिको सहभागिता रहनेछ भने उद्घाटन सत्रमा करिब तीन लाख नेता तथा कार्यकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ। उद्घाटन समारोहमा १६ वटा राजनीतिक दलका अध्यक्ष तथा नेताले शुभकामना दिने कार्यक्रम रहेको छ। साथै, विदेशी कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय पार्टी प्रतिनिधिबाट शुभकामना सन्देश प्राप्त भइसकेको जनाइएको छ।
महाधिवेशनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिएको छ। चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूपमा राखी उपत्यकाका विभिन्न ऐतिहासिक मन्दिर झल्कने गरी निर्माण गरिएको मञ्चलाई सहभागीहरूले आकर्षक र ऐतिहासिक नमूनाको रूपमा प्रशंसा गरेका छन्।


