एमालेको ११औं महाधिवेशन आजदेखि सुरु, भक्तपुरमा भव्य उद्घाटन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने अपेक्षा गरिएको छ। एमाले प्रचार र प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनका सबै तयारी पूरा भएको र उद्घाटन समारोहको तयारीमा अन्तिम चरणमा रहेको जानकारी दिएका छन्।

उद्घाटन समारोहमा नेपालको एकतालाई प्रतीकात्मक रुपमा प्रस्तुत गर्न २०० भन्दा बढी कला र सांस्कृतिक झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ। उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १६ पार्टीका अध्यक्ष र प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ।

महाधिवेशनको जनपरिचालनका प्रमुख र एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईका अनुसार विभिन्न मित्र राष्ट्रका कूटनीतिक नियोग र पार्टीका प्रतिनिधिहरूसँग शुभकामना सन्देश प्राप्त भइरहेको छ।

महाधिवेशनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन ५०० भन्दा बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिनेछन्। १०,000 तालिम प्राप्त स्वयंसेवक जनसेवामा परिचालित गरिने तयारी गरिएको छ।

उद्घाटन समारोहको मञ्चमा लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायण मन्दिरलाई प्रमुख आकर्षणको रूपमा राखेर उपत्यकाका विभिन्न महत्वपूर्ण मन्दिरहरूलाई एकै स्थानमा देखाउने कलात्मक मञ्च निर्माण गरिएको छ। मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिने छन्, जसले टाढासम्म रहेका सहभागीलाई पनि प्रष्ट देख्न मद्दत गर्नेछन्।

साथै, तीन किलोमिटर टाढासम्म सुन्न सकिने ११५ उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको छ र मञ्च अगाडि २५,000 कुर्सी राखिएको छ।

महाधिवेशन उद्घाटनमा चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटद्वारा पालालाई बालेर महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ। यस अवसरमा पार्टीको ११औं महाधिवेशन भएकाले ११ वटा झण्डा राखिने छन्। १० झण्डा सुरुमै फहराइने र एक झण्डा रिमोटबाट फहराइने व्यवस्था गरिएको छ।

उद्घाटन सत्रमा सहभागीका लागि विभिन्न जिल्लाबाट सवारी साधन ल्याउन कोटेश्वरदेखि गट्ठाघरसम्म गाडी जाने व्यवस्था गरिएको छ। गठ्ठाघरमा नागरिक उडड्यन प्राधिकरणको खाली चौर र काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको छ। उद्घाटन अघि गठ्ठाघर र जगातीबाट भव्य ¥याली पनि आयोजना गरिनेछ।

प्रकाशित: शनिबार, मंसिर २७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय