कार्यभार सम्हाल्दै श्रममन्त्री भण्डारीले भने- ‘प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडल हटाउँछु

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापनमा सक्रिय भूमिका निभाउने बताएका छन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपछि मन्त्री भण्डारीले सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री भण्डारीले सरकारको कार्यावधि छोटो भए पनि आफ्नो कार्यसम्पादन द्रुत गतिमा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो लामो समयको सिआइबीका संस्थापक कार्यकालका अनुभवलाई मद्दत गर्दै सङ्गठित अपराधको जालो तोड्न कार्ययोजना बनाउने बताए।

मन्त्री भण्डारीले प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडल हटाउनु आवश्यक रहेको बताउँदै, “अब हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंसकारी हुँदैन भनेर महसुस गराउनु छ,” भने। उनका अनुसार, जेनजी र नेपाल प्रहरी दुवै पक्षले समान पीडा भोगेका छन्, र दुवै आवाजलाई मन्त्रिपरिषद्मा उठाइने उनले बताए।

प्रहरी सेवाबाट अवकाश भएको करिब एक दशकपछि मन्त्री बनेका भण्डारीले अवकाश अवधिमा लेख लेख्ने र पठनपाठनमा सक्रिय रहेर अब श्रम मन्त्रालयमार्फत जनताको सेवा गर्ने बताएका छन्।

प्रकाशित: शुक्रबार, मंसिर २६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय