
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले आज पदभार ग्रहण गरेकी छन्। उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिइसकेपछि सिंहदरबारस्थित मन्त्रालयमा औपचारिक रुपमा पदभार सम्हालेकी हुन्।
पदभार ग्रहणपछि मन्त्री श्रेष्ठले सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया र कार्य वातावरणलाई लैङ्गिक दृष्टिकोणले मूल्याङ्कन गर्दै लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवर्द्धन गर्नका लागि तयार गरिएको ‘राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि-२०८२’ को परिमार्जित मस्यौदा स्वीकृत गर्ने निर्णय गरेकी छन्।
नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक रहिएकी मन्त्री श्रेष्ठले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकासमा अध्ययन गरेकी थिइन् र संयुक्त राष्ट्रसंघको ‘दिगो पर्यटन परियोजना’ (एसटिपी)का लागि राष्ट्रिय परियोजना संयोजकको भूमिका पनि निर्वाह गरेकी थिइन्।

