मंगलबार, कार्तिक ११, २०८३
नागढुङ्गा-मलेखु सडकखण्ड: शुक्रबार र शनिबार आंशिक बन्द नगर्ने निर्णय

काठमाडौँ । नागढुङ्गा–मलेखु सडकखण्डमा दैनिक पाँच घण्टा आंशिक बन्द गरेर भइरहेका स्तरोन्नति कार्यलाई आज र भोलि (शुक्रबार र शनिबार)का लागि खुला गरिएको छ। नेकपा (एमाले)को ११औं केन्द्रीय महाधिवेशन उद्घाटन सत्रको सन्दर्भमा सडकमा आवतजावत रोकिएको छैन।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाले मङ्सिर २४ गतेदेखि आंशिक बन्द गरेर काम गरिरहेको थियो। तर, महाधिवेशनलाई ध्यानमा राखेर आज र भोलि सडक बन्द नगर्ने निर्णय लिइएको हो। यसकोपछि, निर्धारित कार्यतालिका अनुसार, तोकिएको समयमा सडक बन्द गरेर काम गरिने छ।

सडक आयोजनाका प्रमुख केशवप्रसाद ओझाले भने, “सडक स्तरोन्नति कार्यलाई तीव्रता दिन धादिङ र काठमाडौँको जिल्ला प्रशासनसँग समन्वय गरेर मङ्सिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गरेर काम भइरहेको थियो, तर महाधिवेशनको कारण सवारी चाप र सम्भावित जामको ध्यानमा राख्दै हामीले दुई दिनका लागि सडक खुला राख्ने निर्णय गरेका छौं।”

युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि सडक दुई दिन खुला गरिदिन आग्रह गरेका थिए। सडक विभागले काठमाडौँ जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्र गर्न उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कार्यलाई प्राथमिकता दिइरहेको छ।

प्रकाशित: शुक्रबार, मंसिर २६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय