मन्त्रिपरिषद् बैठकले जेनजीसँगको सम्झौता सम्मत निर्णय

काठमाडौँ । सरकारले जेनजी समूहसँग बुधबार भएको सम्झौतासम्मत निर्णय अनुमोदन गर्ने निर्णय गरेको छ।

आज सिंहदरबारमा भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिहरूसँगको सहमतिलाई अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

उक्त सम्झौतालाई सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री खरेलले बताए।

बैठकले सम्झौतामा उल्लेखित जेनजी आन्दोलन जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।

यही बैठकले न्याय सेवा आयोगको सिफारिसअनुसार नेपाल न्यायसेवा कानुन समूहका प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई नेपाल न्यायसेवाको विशिष्ट श्रेणीको पदमा बढुवा गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिव पदमा नियुक्ति गर्ने निर्णय गरेको छ।

त्यसैगरी, जेनजी आन्दोलनका क्रममा भएका क्षतिहरूको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको प्रतिवेदन पनि आज प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको प्रवक्ता खरेलले जानकारी दिए।

प्रकाशित: बिहिबार, मंसिर २५, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय