काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमाडौँले टस जितेर लुम्बिनी लायन्सलाई पहिला बलिङ गर्ने निम्तो दिएको हो। यस खेलको विजेता टोली भोलि विराटनगर किङ्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।
मोन्टी देसाईंको नेतृत्वमा रहेको काठमाडौँ गोर्खाज तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो। काठमाडौँले सात खेलमध्ये पाँच खेलमा जित हासिल गरेको छ, तर नेट रनरेटमा पछि परेपछि पहिलो क्वालिफायर खेल्नबाट वञ्चित भएको हो।
लुम्बिनी लायन्स चौथो स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो। लुम्बिनीले सात खेलमध्ये चार खेलमा जित हासिल गरेको थियो। लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो।
यस प्रतिस्पर्धामा सुदूरपश्चिम रोयल्स भने फाइनलमा प्रवेश गरिसकेको छ। हिजो भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
काठमाडौँ गोर्खाजको प्लेइङ एघारमा कप्तान करण केसीसहित आकाश त्रिपाठी, आदिल अन्सारी, शहाब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, वेन चाल्र्सवेथ, मिलिन्द कुमार, सनी पटेल र जोन सिमसन छन्।
लुम्बिनी लायन्सको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, जेज स्मित, सन्दीप जोरा, दिलीप नाथ, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला र डार्शी सर्ट छन्।


