
मोरङ । हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडक खण्डको निर्माण ठेक्का तोडिएको छ।
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि, हेटौंडासँग भएको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ। उक्त कम्पनीसँग २३ कात्तिक २०७६ मा ८३ करोड ९९ लाख रुपैयाँमा ६ किलोमिटर सडकको स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, तोकिएको समयभित्र निर्माण प्रगति करिब २५ प्रतिशत मात्रै पुगेको थियो। ठेक्का अनुसार सडक चार र छ लेनमा स्तरोन्नति गर्ने व्यवस्था थियो।
ठेक्का सम्झौता रद्द भएपछि निर्माण व्यवसायीको कार्य सम्पादन जमानतको ४ करोड १९ लाख रुपैयाँ र पेस्कीको ९ करोड ६७ लाख रुपैयाँ बैंकमार्फत जफतका लागि पत्राचार गरिएको इटहरी प्रमुख युवराज पोखरेलले बताए। पेस्की रकममा १० प्रतिशत व्याजसहित असुल गरिनेछ।
निर्माण व्यवसायीलाई हालसम्मको अद्यावधिक काम र बाँकी कामको नाप–जाँच मूल्यांकन गरी १५ दिनभित्र कार्यालयमा उपस्थित भई वित्तीय फरफार गर्न अनुरोध गरिएको छ। यदि उनी उपस्थित भएनन् भने कार्यालयबाटै नाप–जाँच गरिने जनाइएको छ।

