काठमाडौँ । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जनाजना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन्। उनीहरूलाई आज बिहान लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिए।
घटनास्थलमा निजी जमिनमा घाँस काट्दै गरेको अवस्थामा भालुले अचानक आक्रमण गरेको स्थानीयवासीहरूले बताएका छन्। आक्रमणपछि स्थानीय स्तरमा प्राथमिक उपचार दिइएको भए पनि घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।


