काभ्रे । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका आठ अस्पतालले अब प्रथम सेवा उपलब्ध गराउन थालेका छन्।
आइतबारदेखि मण्डनदेउपुर नगरको आधारभूत अस्पतालले सेवा थालनी गरेपछि, जिल्लामा स्वास्थ्य बीमाको प्रथम सेवा प्रदान गर्ने अस्पतालहरूको संख्या आठ पुगेको हो। उक्त अस्पतालले साउन अन्तिम साता स्वास्थ्य बीमा बोर्डसँग आबद्ध भइ प्रथम सेवा केन्द्रको स्वीकृति प्राप्त गरेको थियो। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले औपचारिक रूपमा सेवाको शुभारम्भ गरेका छन्।
कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाईबाले स्वास्थ्य बीमालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नगरपालिकाले आवश्यक तयारी गरेको र आइतबारदेखि औपचारिक सेवा सुरू गरिएको बताए। उनका अनुसार नगरका ६५ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गरेका छन्।
यसअघि, सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रसँगै बनेपा नगर अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृति प्राप्त गरी स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएका थिए। धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्रको सेवा गत साउन २६ देखि धुलिखेल अस्पताल परिसरबाट सुरू गरेको छ। यसअघि, भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण उक्त केन्द्रले स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सञ्चालन गर्न सकेको थिएन। नगरले धुलिखेल अस्पताल परिसरबाट चिकित्सक, नर्स र औषधिसहित ‘रिफरल’ सेवा प्रदान गर्न थालेको जनाएको छ।
गत साउन १ देखि सरकारले सरकारी स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु बनाउने नियम लागू गरेको थियो। २०७६ मङ्सिर १ देखि काभ्रेपलाञ्चोकका चार स्वास्थ्य संस्थामा यो नियम लागू गरिएको थियो, जसमा मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले पहिले नै सेवा प्रदान गर्दै आएका थिए।


