मंगलबार, साउन १९, २०८३
स्टाफ नर्स अभावपछि पिसिएल नर्सिङ निरन्तरताको तयारी, मन्त्री गौतमको घोषणा

काठमाडौँ :- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले एसइईपछि अध्ययन हुने पिसिएल नर्सिङ कार्यक्रम पुनः सुरु गर्ने तयारी गरेको बताउनुभएको छ। भरतपुर अस्पतालको ट्रमा सेन्टर तथा कम्पाउन्डिङ फार्मेसीको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले हाल अस्पतालहरूमा स्टाफ नर्सको अभाव देखिएकाले पिसिएल नर्सिङ शिक्षालाई निरन्तरता दिन पहल थालिएको जानकारी दिनुभयो।

उहाँका अनुसार ठूला मेडिकल कलेज तथा आफ्नै अस्पताल सञ्चालन गर्ने कलेजहरूलाई पिसिएल नर्सिङ पढाइका लागि अनुमति प्रदान गर्ने तयारी चलिरहेको छ। आवश्यक परे अध्यादेशमार्फत अतिरिक्त प्रावधान थपेर पनि कार्यक्रम सुरु गर्ने योजनामा सरकार रहेको उहाँले बताउनुभयो। मन्त्रालयले हाल सात विषयगत क्षेत्रमा सुधारका लागि काम थालिएको पनि जानकारी दिइयो।

सेवातर्फ मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य, महिला तथा बालबालिका स्वास्थ्यलाई प्राथमिकतामा राखिएको मन्त्री गौतमले बताए। साथै स्वास्थ्य बीमा सुधार, औषधिको गुणस्तरीयता, खरिद प्रक्रियामा पारदर्शिता र भ्रष्टाचार नियन्त्रण मन्त्रालयका मुख्य कार्यसूची रहेको स्पष्ट आउनुभयो। “हामीले प्रतिवेदन तयार गरी कार्ययोजना बनाइरहेका छौँ, यसको नतिजा छिट्टै देखिनेछ,” उहाँको भनाइ थियो।

उहाँले आफ्नो सरकारी सेवाको सुरुआत भरतपुर अस्पतालबाट भएको स्मरण गर्दै वर्तमान प्रगतिले आफू सन्तुष्ट रहेको बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेश सभा सदस्य उत्तम जोशीले स्वास्थ्य क्षेत्रको दीगो सुधारका लागि नीतिगत पुनर्संरचना आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

समारोह भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न भयो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले अस्पतालका सेवा, सुविधा तथा चुनौतीबारे जानकारी प्रस्तुत गर्नुभयो।

ट्रमासेन्टर निर्माणमा करिब रु ११ करोड खर्च भएको र उपकरण खरिदका लागि रु २ करोड ५० लाख खर्च भएको समितिका अध्यक्ष पौडेलले बताए। हाल १५ श्ययाबाट सेवा सुरु गरिएको ट्रमासेन्टरलाई भविष्यमा ५० श्ययासम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: आइतबार, मंसिर २१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय