काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा सान्त्वना जित निकालेको छ। प्लेअफको दौडबाट बाहिरिसकेको पोखराले अन्तिम खेलमा चितवन राइनोजलाई ८ विकेटले पराजित गर्यो। चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो।
पोखराको जितमा एडम वासिंटनले सर्वाधिक ६५ रन बनाउँदै महत्वपूर्ण भूमिका निभाए। उनले ४८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। एडमले अर्जुन कुमालसँग पहिलो विकेटका लागि १०० रनको साझेदारी गरे। अर्जुन ४३ रनमा अविजित रहे। कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए भने जेशन रोय ६ रनमा अविजित रहे। बलिङमा चितवनका सैफ जैइव र रिजन ढकालले एक-एक विकेट लिए।
त्यसअघि, टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो। चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाएका थिए।
चितवनका अन्य ब्याट्सम्यानहरू अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७ र कप्तान कुशल मल्ल २३ रनमा आउट भए। कमलसिंह ऐरी २ रनमा अविजित रहे। बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिए, जबकि विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक-एक विकेट लिए।


