सहरी विकासमन्त्री घिसिङ: काठमाडौँका नदीहरू सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट निर्माण गर्ने योजना

काठमाडौँ ।सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाका नदीहरूलाई सफा गर्नका लागि धेरै फोहोर पानी प्रशोधन प्लान्ट निर्माण गर्ने योजना राखेका छन्।

आज थापाथलिस्थित बागमती करिडोरमा निर्माणाधीन फोहोर पानी प्रशोधन प्लान्टको निरीक्षण गर्दै मन्त्री घिसिङले बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीहरू सफा गर्नका लागि धेरै प्रशोधन प्लान्टहरूको आवश्यकता भएको बताएका छन्।

मन्त्री घिसिङले जानकारी दिँदै भने, “थापाथली करिडोरमा निर्माणाधीन प्लान्टले टुकुचाको ढललाई सफा गरेर पानीलाई बागमतीमा फाल्नेछ।” एडीबीको ३ अर्ब १८ करोडको लगानीमा यो प्लान्ट निर्माण भइरहेको छ, र केही ढिलाई भएको स्वीकार गर्दै उनले भने, “रुख कटानी र लालितपुर क्षेत्रका स्थानीयको विरोधका कारण काममा ढिलाई भएको छ।”

उनले थपे, “यो वेस्ट वाटर ट्रिटमेन्ट प्लान्टले टुकुचाको सम्पूर्ण ढल सिष्टमलाई सफा गरेर पानीलाई बागमतीमा फाल्नेछ।”

मन्त्री घिसिङले यस परियोजनामा साईट क्लिरियन्सको काममा डेढदेखि दुई वर्षको ढिलाई भएको जानकारी दिए। उनले भने, “रुख कटानी र स्थानीय विरोधका कारण काममा ढिलाई भएको छ, तर अब हामी यो समस्या समाधान गरेर काम अघि बढाउनेछौँ।”

त्यस्तै, मन्त्री घिसिङले उपत्यकाका अन्य नदीहरूलाई सफा गर्नका लागि थप प्रशोधन प्लान्टहरू निर्माण गर्ने योजना रहेको पनि बताए। “गुह्येश्वरीमा एउटा प्लान्ट बनाइएको छ र अरु एकदुई ठाउँमा पनि साना प्लान्टहरू निर्माण भइरहेका छन्,” उनले भने।

उपत्यकाका नदीहरू सफा गर्नका लागि धेरै ट्रिटमेन्ट प्लान्टहरू आवश्यक भएको भन्दै, मन्त्री घिसिङले यस अभियानलाई तीव्रता दिने कुरा पनि पुष्टि गरे।

प्रकाशित: शनिबार, मंसिर २०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय