बेथानचोक गाउँपालिका: भौतिक र मानव विकासमा उल्लेखनीय प्रगति, स्थानीय नागरिक सशक्तिकरणको लागि नयाँ पहल

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले भौतिक पूर्वाधारको विकाससँगै मानव विकासका क्षेत्रमा पनि उल्लेखनीय काम गर्दै आएको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सीप विकास, स्थानीय नागरिकको क्षमता वृद्धिका साथै उपभोक्ता समितिहरूलाई तालिम दिने कार्यहरूलाई प्राथमिकता दिँदै मानव विकासका क्षेत्रमा महत्वपूर्ण प्रगति गरेको हो।

विशेष गरी २०७९ को स्थानीय तहको निर्वाचनपछि, गाउँपालिकाले भौतिक पूर्वाधारको सुधारसँगै मानव विकासका क्षेत्रमा पनि ठूला पहलहरू अगाडि सारेको छ। बेथानचोक गाउँपालिकाले शिक्षा क्षेत्रमा दुई करोड रुपैयाँ बजेट छुट्याएको छ, जबकि स्वास्थ्य क्षेत्रमा डेढदेखि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

पछिल्लो समय स्थानीय तहका गतिविधिहरूमा नागरिक सहभागिता घट्दै गएका बेलामा, बेथानचोक गाउँपालिकाले नागरिकको सहभागिता बढाउने प्रयास गरेको छ। उपभोक्ता समितिमा बिचौलियाहरूको हस्तक्षेपको आलोचनासँगै, गाउँपालिकाले उपभोक्ता समितिको कामलाई प्रत्यक्ष जिम्मेवारीका साथ स्थानीय स्तरमा सञ्चालन गर्दै आएको छ।

गाउँपालिकाले प्रत्येक उपभोक्ता समिति गठन गर्दा सार्वजनिक सूचना जारी गरेर नागरिकलाई उपस्थित हुन आह्वान गरेको छ। साथै, स्थानीय नागरिकहरूको सशक्तिकरणका लागि बजार प्रवद्र्धन, सीप हस्तान्तरण, नयाँ उद्यमी सिर्जना, र पुराना उद्यमीलाई प्रविधि हस्तान्तरणका कार्यहरू पनि गरिरहेको छ।

बेथानचोक गाउँपालिकाले लघु उद्यम विस्तार शाखा मार्फत संघ र प्रदेशका बजेट सहयोगसहित सीप विकासका कार्यक्रमहरू चलाउँदै आएको छ। गाउँपालिकाले एक विशेष कोष स्थापना गरेर उद्यमी सिर्जना गर्ने काम पनि थालेको छ। हाल, गाउँपालिकाले कोशेली घर गठन गरी अर्गानिक चनाको सातु, पिठो, खुवा आदि उत्पादनलाई कोशेली घरबाट बिक्री वितरण गर्ने काम पनि सुरु गरेको छ।

प्रकाशित: शनिबार, मंसिर २०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय