प्रदीप ज्ञवाली: ‘एमाले कहिल्यै निर्वाचनबाट नभाग्ने, निष्पक्ष वातावरण बनाउनु सरकारको जिम्मेवारी

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी कहिल्यै निर्वाचनबाट नभागेको र भविष्यमा पनि नभाग्ने स्पष्ट पारेका छन्। शुक्रबार भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ११ औं राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धी जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले चुनावको लागि निष्पक्ष, सुरक्षित र जनआस्थायोग्य वातावरण बनाउन सरकारको जिम्मेवारी रहेको बताएका छन्।

ज्ञवालीले भने, “चुनावबाट एमाले कहिल्यै भाग्दैन, भागेको पनि छैन। कसले चुनाव गराउँछ भन्ने कुरा एमालेको सरोकार होइन, तर मुख्य कुरा भनेको नेताहरूलाई निर्धक्क भएर जनतासम्म जान दिने र जनतालाई निर्भय भएर मतदान गर्न दिने आधार सरकारको कर्तव्य हो।”

उपमहासचिव ज्ञवालीले थपे, “५७ सय कैदी अझै फरार छन्, लुटेर लगिएका हतियारहरू अझै बरामद भएको छैन, र अराजक समूहका हुलदङ्गाले निर्वाचन सुरक्षाबारे गम्भीर प्रश्न खडा गरेको छ।” उहाँका अनुसार, यी चुनौतीपूर्ण अवस्थाहरूमा स्वच्छ र स्वतन्त्र निर्वाचनको वातावरण बनाउन सरकारको प्राथमिक जिम्मेवारी हो।

आफ्नो सम्बोधनमा ज्ञवालीले देशका जेनजीका नाममा उद्दण्डता मच्चाइरहेका ४० वर्ष नाघेका व्यक्तिहरूको बारेमा उल्लेख गर्दै संसद पुनर्स्थापना गरेर सर्वदलीय सरकार गठन गर्ने सुझाव दिएका छन्। उनका अनुसार, यस्तो सरकारमार्फत संविधान संशोधन गरी त्यसपछि चुनावमा जानु उपयुक्त हुन्छ।

उपमहासचिवले एमालेमाथि चौतर्फी हमला भइरहेको उल्लेख गर्दै पार्टी महाधिवेशनलाई एकताबद्ध ढंगले, देश, संविधान र लोकतन्त्रलाई प्राथमिकतामा राखेर सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। यदि सहमति नजुटेमा प्रजातान्त्रिक विधिबाट अघि बढ्न सकिने कुरा पनि उनले बताएका छन्।

महाधिवेशन उद्घाटन समारोहलाई भव्य बनाउन आवश्यक तयारी गर्न अध्यक्षको हस्ताक्षर रहेको निमन्त्रणापत्र घर-घर पुर्याउन निर्देशन दिँदै ज्ञवालीले भक्तपुरको सल्लाघारीबाट पूर्वतिर जगाती र पश्चिमतिर जडीबुटीदेखि आउने र्‍यालीहरूको एकीकरण हुँदै डेढ लाखभन्दा बढी सहभागिता रहने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य सोम मिश्र, निर्मल भट्टराई, जिल्ला अध्यक्ष बचन देउजा र वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालगायत नेताहरूले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै तह–स्तरबाट तयारी भइरहेको जानकारी दिएका थिए।

प्रकाशित: शनिबार, मंसिर २०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय