काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुने भएका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११:१५ बजे पहिलो खेल सुरु हुनेछ, जहाँ अपराजित सुदूरपश्चिम रोयल्स र प्लेअफ सुनिश्चित गरिसकेको विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्।
पहिलो क्वालिफायरमा स्थान पक्का गरिसकेको सुदूरपश्चिममाथि दबाब कम छ । तर विराटनगरका लागि भने आजको खेल निकै महत्वपूर्ण छ। जित निकाले मात्र विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायरमा खेल्न सक्नेछ, अन्यथा उनीहरूले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नुपर्नेछ।
अर्को खेल दिउँसो ३:३० बजे सुरु हुनेछ, जहाँ चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्। दुवै टोली प्लेअफबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। दुवैले छ खेलमा चार-चार अंक मात्र जोड्न सफल भएका छन्।


