काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले आगामी दिनमा आफूले देशको नेतृत्व गर्न चाहने बताएर, यसका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनुभएको छ।
आज आफ्नो गृहजिल्ला रामेछापमा एक कार्यक्रमलाई सम्बोधन गर्दै, उनले ऊर्जा क्षेत्रमा मात्र होइन, सम्पूर्ण मुलुकको विकासका लागि सहयोगको अपील गरेका छन्। उनले भने, “आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ। यसको नेतृत्व गर्न तपाईंहरूको ठूलो साथ र सहयोग आवश्यक छ।”
मुलुक परिवर्तनको संघारमा रहेको भन्दै, उनले यसलाई संस्थागत गर्नका लागि चुनावको महत्व औंल्याए र निर्वाचित हुन आवश्यक रहेको धारणा राखे।
“मैले लामो समयसम्म प्राधिकरण लगायतका थुप्रै स्थानमा काम गरेको छु र एउटा नेतृत्वदायी भूमिकामा जाने अवसर प्राप्त गरेँ,” उनले भने, “आज म मन्त्रीको रूपमा यहाँ आएको छु, त्यो पनि तीनवटा मन्त्रालय सम्हालेर। म कुनै चुनाव लडेको छैन, तर जनताको विश्वास र सहयोगले मलाई यो स्थानसम्म पुर्याएको छ। आगामी दिनमा यो देशको नेतृत्व गर्न आवश्यक छ, र त्यसका लागि तपाईंहरूको सहयोग चाहिएन्छ।”


