अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस मनाइँदै, मानवता र माटो संरक्षणमा प्रतिबद्धता

काठमाडौँ । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस मनाइँदैछ। यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष यसका सदस्य राष्ट्रहरूमा मनाइन्छ। स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्न र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सन् १९८५ देखि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउन थालिएको हो।

राष्ट्रसङ्घीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा यसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गरेको हो। यस अवसरमा आज न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको महासभा हलमा सदस्य राष्ट्रहरूले स्वयंसेवालाई विकास रणनीतिमा समावेश गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ। महासचिव एन्टोनियो गुटरेसले पनि स्वयंसेवकहरूको कृतज्ञता ज्ञापन गर्दै एक सन्देश जारी गरेका छन्।

सन्देशमा उहाँले प्राकृतिक विपद्, द्वन्द्वग्रस्त समुदायलाई सहयोग, गरिबी निवारण र अन्य चुनौतीपूर्ण कार्यहरूमा आफ्नो समय, ऊर्जा र सीप स्वेच्छिक रूपमा समर्पण गर्ने स्वयंसेवकहरूको त्याग र साहसलाई सम्मान गर्दै यसलाई वर्तमान विश्वका लागि प्रेरणाको स्रोत भनेका छन्।

विश्व माटो दिवसको सन्दर्भमा, माटोको संरक्षण र दिगो व्यवस्थापनको महत्वलाई उजागर गर्नका लागि हरेक वर्ष डिसेम्बर ५ मा यो दिवस मनाइन्छ। माटोको महत्व, कृषि उत्पादन, वातावरणीय सन्तुलन र समग्र मानव अस्तित्वमा यसको भूमिकाको बारेमा जनचेतना बढाउनका लागि यस अवसरमा विभिन्न बहस र अभियानहरू सञ्चालन हुन्छन्।

संयुक्त राष्ट्रसङ्घले सन् २०१३ मा विश्व माटो दिवस मनाउने घोषणा गरेको थियो। यस दिवसले कृषक, सरकार, वैज्ञानिक समुदाय र आम नागरिकलाई माटोको संरक्षणतर्फ सचेत र सक्रिय बनाउने उद्देश्य राख्दछ।

प्रकाशित: शुक्रबार, मंसिर १९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय