एनपीएलमा सुदूरपश्चिम रोयल्सको प्रभावकारी प्रदर्शन, चितवन राइनोज अघि १६९ रनको लक्ष्य

काठमाडौँ । क्रिस लिनको उत्कृष्ट अर्धशतकको बलमा सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १७० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको डे–नाइट खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन जोड्यो।

नियमित ओपनर जोश ब्राउनलाई आराम दिएपछि विनोद भण्डारीसँग इनिङ सुरु गरेका क्रिस लिनले सर्वाधिक ७५ रनको योगदान दिए। ५६ बलको सामना गर्दै उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए। १७औँ ओभरपछि लिन ‘रिटायर आउट’ भएका हुन्।

लिनले विनोद भण्डारीसँग पहिलो विकेटका लागि ४६ रन र पछि आरिफ शेखसँग पाँचौँ विकेटका लागि ४५ रनको साझेदारी गरे।

आरिफ शेख र कप्तान दीपेन्द्र सिंह ऐरी दुवैले अविजित रहँदै समान २४ रन जोडे। दीपेन्द्रले १४ बलमा २ छक्का प्रहार गरे भने आरिफले १६ बलमा २ चौका र १ छक्का हिर्काए।

विनोद भण्डारीले २१ रन र पुनित मेहराले १३ रन थपे।

चितवनका बलर सैफ जैबले २ विकेट तथा रन्जित कुमार र जर्ज स्मृक्शले १–१ विकेट हात पारे।

प्रकाशित: बिहिबार, मंसिर १८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय