काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धान्यपूर्णिमा पर्व विधिपूर्वक पूजाआजा र दान गरेर मनाइँदै छ। मङ्सिर महिनामा धान भित्र्याएपछि शुक्ल पूर्णिमाका दिन धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र र महालक्ष्मीलाई पूजा गरेर नयाँ धानलाई कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा जारी छ। यसै दिन नवअन्नप्राशन नगरेका व्यक्तिले धर्मशास्त्र अनुसार आजै नवान्नप्राशन गर्नुपर्ने बताइएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले रासससँग यस बारे जानकारी दिए।
यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा मेला लाग्ने परम्परा छ।
आजको दिनलाई नेवार समुदायले योःमरि पूर्णिमा (योमरी पुन्हि)को रूपमा विशेष महत्त्व दिन्छन्। नयाँ धानको खुसियालीमा यो पर्व हर्षोल्लासका साथ मनाइन्छ। यो पर्वलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ। योमरी नयाँ धानको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ र यसमा दूधबाट बनेको खुवा र चाकु राखेर डल्लो बनाइन्छ।
योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन्। नुहाइधुवाइ गरेर घरलाई लिपपोत गरेर योमरी पकाउने परम्परा छ। यस पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा पनि मनाउने गर्छन्, संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगका अनुसार।
त्यसैगरी, नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजाआराधना गरेर योमरी पूर्णिमा पर्व मनाउँछन्। चेलीबेटीको गर्भमा बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलनसमेत रहेको छ।


