काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसहित मन्त्रालयका कर्मचारी र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यहरूले शुक्रबार बेलुका क्यूएफएक्स छायाँ हलमा नेपाली फिल्म ‘परान’ हेरे। मन्त्री खरेलसँगै मन्त्रालयका सचिव, सहसचिव, विधायन समितिका सभापति र सदस्यहरूले आफैले टिकट किनेर फिल्म हेरेका हुन्। यस अवसरमा, समितिका सदस्यहरूले नेपाली चलचित्रको वर्तमान अवस्थाबारे छोटो छलफल पनि गरेका थिए। गत महिना मन्त्री खरेलले नेपाली चलचित्रप्रति समर्थन जनाउँदै आफैले टिकट किनेर फिल्म हेर्ने घोषणा गरेका थिए। उनले ‘परान’ हेरेर नेपाली फिल्म निर्माता र कलाकारलाई प्रोत्साहन दिएको बताए।
यसै क्रममा, उनले नेपाली चलचित्र ऐनको बारेमा पनि आफ्नो विचार राखे। २०२६ सालमा बनेको पुरानो ऐनको सन्दर्भमा उनले भने, “समयको परिवर्तनसँगै चलचित्र उद्योगमा धेरै परिवर्तन भएको छ, तर कानून जस्ताको तस्तै छ। अब हामी यस्तो ऐन बनाउनुपर्ने छ, जसले ५० वर्ष पछि आउने पुस्तालाई सान्दर्भिक र उपयोगी होस्।”


