काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रस्तावित आचारसंहितामा उम्मेदवारले मनोनयन दर्ताका समयमा नै आफूले चुनावमा गर्ने अनुमानित खर्च तथा त्यसका स्रोत स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले राय–सुझावका लागि सार्वजनिक गरेको प्रारम्भिक मस्यौदाको दफा १६ मा खर्च पारदर्शितासम्बन्धी नयाँ प्रावधानहरू समावेश छन्। त्यस अनुसार राजनीतिक दल र उम्मेदवारले निर्वाचनसम्बन्धी सबै खर्च छुट्टै बैंक खातामार्फत गर्नुपर्नेछ। खर्चका लागि विशेष जिम्मेवारी पाउने पदाधिकारी तोक्नुपर्ने र २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग बैंकिङ प्रणालीमार्फत मात्र लिनुपर्ने प्रावधान राखिएको छ।
त्यसैगरी व्यक्ति वा संस्थाबाट स्वेच्छिक रूपमा नगद सहयोग प्राप्त भएमा त्यसको रसिद वा भर्पाई जारी गरी सो रकम अनिवार्य रूपमा खातामा जम्मा गर्नुपर्ने व्यवस्था समेत मस्यौदामा प्रस्ताव गरिएको छ।


