
काठमाडौँ । निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ताको चाप बढ्दै गएको छ। प्रतिनिधिसभा निर्वाचनको घोषणा भएपछि हालसम्म पाँच नयाँ दल आधिकारिक रूपमा दर्ता भइसकेका छन्।
आयोगका अनुसार थप २० नयाँ दल र एकीकरण प्रक्रियाबाट बनेको एउटा दलसहित २१ दलका दर्ता निवेदन विचाराधीन अवस्थामा छन्। माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसहितका विभिन्न दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी पनि हाल दर्ता प्रक्रियामा रहेको आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखाले जनाएको छ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी, बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत सहभागी रहेको गतिशील लोकतान्त्रिक पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल हालै दर्ता भएका दलहरू हुन्।
त्यस्तै, जनमत पार्टीबाट विभाजन भएर बनेको जनस्वराज पार्टी र नेपाल जनमुक्ति पार्टीबाट छुट्टिएर बनेको राष्ट्रिय जनमुक्ति पार्टी पनि आयोगमा सूचीकृत भइसकेका छन्। यससँगै निर्वाचन आयोगमा दर्ता राजनीतिक दलहरूको संख्या १२६ पुगेको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञ भट्टराईले जानकारी दिए।
यसअघि आयोगमा दर्ता भएको वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान को दर्ता खारेज गरिएको छ, किनभने गौतमले आफ्नो दललाई एकीकृत समाजवादी पार्टीमा विलय गराएका छन्।
हाल दर्ता प्रक्रियामा रहेका अन्य दलहरूमा अनुप उपाध्यायको उज्यालो नेपाल पार्टी, अजयकुमार राईको राष्ट्रिय परिवर्तन पार्टी, गोपीलाल न्यौपानेको नेपाल लिबरल पार्टी, नेत्रविक्रम चन्दको कम्युनिस्ट पार्टी नेपाल, नवराज सुवेदीको जनयुग पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी, र योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल रहेका छन्।
त्यसैगरी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी, रियाज अहमद शेषको राष्ट्रिय स्वराज पार्टी, राजकुमार कक्षपतिद्वारा दर्ता प्रक्रिया अघि बढाइएको नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र), सुन्दरराम बोहराको आवाज पार्टी, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल, नेपाल, र अकबर खानको राष्ट्र निर्माण दल नेपाल पनि आयोगमा दर्ता प्रक्रियामा रहेका छन्।
त्यस्तै, सर्वोच्च अदालत बार एसोसिएसनका सचिव रमणकुमार कर्णको जनादेश पार्टी नेपाल र प्रशान्त सिंहको पिपुल फर्स्ट पार्टी पनि हाल दर्ता प्रक्रियामा छन्।

