काठमाडौँ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबिच १६ बुँदे सहमति भएको छ । मंगलबार राति सम्पन्न वार्तापछि सहमति जुटेसँगै रोकिएको मेलम्चीको पानी काठमाडौं उपत्यकातर्फ पथान्तरण पुनः सुरु गरिने भएको छ। साथै, स्थानीय संघर्ष समितिले सञ्चालनमा रहेका सबै आन्दोलनहरू स्थगित गर्ने निर्णय गरेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रका स्थानीयले आफ्ना विभिन्न माग अघि सार्दै मेलम्चीको पानी पथान्तरण रोक गरेका थिए। यसअघि ०८१ असोज २३ गते स्थानीय बाढीपीडित संघर्ष समिति, तत्कालीन खानेपानी मन्त्री प्रदीप यादव र मन्त्रालयका सचिव प्रमिला देवीबीच १० बुँदे सहमति भएको थियो। तर उक्त सहमति कार्यान्वयन नभएकाले स्थानीयहरूले पुनः आन्दोलनमा उत्रँदै पानी पथान्तरणमा रोक लगाएका थिए।




