झापा । जेनजी प्रदर्शनको क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयमा भएका तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, सम्पत्ति नोक्सानी, लुटपाट तथा प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएका थिए।
सिसीटिभी फुटेज, विभिन्न भिडियो र तस्बिरको विश्लेषणपछि अभियुक्तहरूको पहिचान गरी उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
पक्राउ परेकामा विर्तामोड–५ का नवराज राई, राजन चौधरी, आयूष धिमाल, कनकाई–१ का गोपाल सङ्ग्रौला, कनकाई–३ का विष्णु विक, शिवसताक्षी–१० का कुशल तिम्सिना र सञ्जय बस्नेत, विर्तामोड–५ की पूजा मगर, अर्जुनधारा–७ का सुरज राई, दमक–३ का रियाज सिलवाल, इलाम चुलाचुली–३ का नकुल अधिकारी र पाँचथर मिक्लाजुङ–५ का साजन ल्हागुन रहेका छन्।
प्रहरीका अनुसार उनीहरूविरुद्ध आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ। जेनजी प्रदर्शनका क्रममा लुटिएका ९९ मध्ये ७७ थान हतियार फिर्ता भइसकेका छन् भने २२ थान हतियार अझै फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ।


