आजबाट सरकारले अवरुद्ध सवारी अनुमती पत्र छाप्न शुरु गर्दै

काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपामा अवस्थित सुरक्षण मुद्रण केन्द्रबाट आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले पहिलो चरणमा सो मुद्रण केन्द्रमार्फत् अनुमतिपत्र छपाइ थाल्ने तयारी गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार दिउँसो मुद्रण केन्द्र पुगेर छपाइ कार्यको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ।

विभागका अनुसार सुरक्षण मुद्रण केन्द्रसँगको सहकार्यमा दैनिक करिब ५ सय वटा सवारी चालक अनुमतिपत्र छापिनेछ। सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि आगामी ६ महिनाभित्र चालक अनुमतिपत्र वितरण गर्ने लक्ष्य राखिएको छ।

गत जेठ ९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच बाँकी रहेका अनुमतिपत्र छपाइका लागि समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो। प्राविधिक मूल्यांकन सम्पन्न भएपछि करिब एक साताअघि मात्र कार्यान्वयन पत्रमा हस्ताक्षर भएको हो।

पहिलो चरणमा करिब १२ लाख चालक अनुमतिपत्र छाप्ने तयारी भइरहेको छ। सो कार्यका लागि विभागले मुद्रण केन्द्रलाई करिब २७ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।

मुद्रण केन्द्रमार्फत् छपाइ गर्दा प्रति कार्ड करिब १०० रुपैयाँ सस्तो पर्ने भएकाले सरकारले खर्च बचतका साथै अनुमतिपत्र वितरण प्रक्रियामा सहजता ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित: शुक्रबार, कार्तिक २१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय