काठमाडौँ । मनाङ, मुस्ताङ, डोल्पा र मुगुका खर्कहरू सेतो हिउँले ढाकिँदा चौँरीहरूले घाँस र दाना पाउन सकेका छैनन्।
स्थानीय किसानका अनुसार असामयिक हिउँले चौँरी चराउने ठाउँ बन्द भएको छ र घाँस तथा पानी नपाउँदा पशु कमजोर हुँदै मर्न थालेका छन्।
मनाङका किसान तेन्जिङ लामाले बताए, “यो पाल हिउँ छिट्टै पर्यो, चौँरीहरूलाई घाँस पनि छैन, दाना ल्याउन बाटो नै बन्द छ।”
निरन्तर हिउँका कारण हिमाली किसानहरूको मुख्य आम्दानी स्रोत जोखिममा परेको छ।
याक–चौँरी पालन हिमाली जीवनको पहिचान मात्र नभई आयआर्जनको प्रमुख माध्यम हो। जलवायु परिवर्तनका कारण हिउँ पात र सुख्खा समय अनियमित हुँदै गएका छन्, जसले पशुपालनमा गम्भीर असर पारिरहेको विज्ञहरूले बताएका छन्।
पशु सेवा विभागका विज्ञले भने, “हिउँ पातपछि चौँरीको स्वास्थ्य र पोषणका लागि तत्काल राहत र दाना आवश्यक छ, ढिलाइ भए ठुलो क्षति हुन सक्छ।” सरकारले प्रभावित किसानलाई सहयोग गर्ने तयारी गरिरहेको भए पनि स्थानीय किसानका अनुसार राहत तत्काल पुग्न समय लाग्ने र सङ्कट समाधान गर्न चुनौतीपूर्ण भइरहेको छ।
हिमाली याक–चौँरी पालनमा परेको यो संकटले आर्थिक र सांस्कृतिक जीवन दुवै प्रभावित बनेको छ। किसानहरूले हिँमपातले चौँरी मात्र होइन, सम्पूर्ण हिमाली जीवनशैलीमा संकट ल्याएको गुनासो गरेका छन्।


