काठमाडौँ । दिनभरि मध्यम वर्षापछि आज रातिदेखि भारी वर्षा हुने संभावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार विगत २४ घण्टामा ४० मिलिमिटर वर्षा भएको छ। “४० मिलिमिटर वर्षा मध्यम वर्षा हो, ५० मिलिमिटर पुगेपछि मात्रै भारी वर्षा भनिन्छ,” उनले भने। मौसमविद् अधिकारीले जानकारी दिनुभयो कि आज दिनभरी बाग्मती, कोशी, मधेस प्रदेशमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र लुम्बिनीमा स्थान विशेषमा पानी फाटफुट परेको छ।
त्यसैगरी गण्डकी र बागमती प्रदेशका उच्च हिमाली भेगमा हिमपातसहित वर्षा भइरहेको छ। मौसम विभागका अनुसार बुधबारदेखि परेको वर्षा कात्तिक १५ गते शनिबारसम्म जारी रहनेछ।
विभागले जनतालाई सुरक्षित रहन सर्तक रहन आह्वान गर्दै, पदयात्रा गर्न जाँदा मौसमको जानकारी लिएर मात्र हिँड्न सुझाएको छ। साथै, धान काट्ने समय भएकाले किसानहरूलाई पनि भारी वर्षाको संभावना रहेकाले अहिले धान काट्न नगर्न सल्लाह दिइएको छ।


