आज प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण देशभरका हवाई उडानहरू प्रभावित भएका छन् ।

मौसममा आएको खराबी र ‘इनरुट वेदर’ बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानमा अवरोध पुगेको हो ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसमका कारण आज आन्तरिकतर्फका केही उडान ‘डाइभर्ट’ भएका छन् भने भरतपुर र तुम्लिङटार विमानस्थलको उडान पूर्णरूपमा बन्द गरिएको छ । पोखरा विमानस्थलमा आगमन उडान रोकिएको छ भने प्रस्थान (डिपार्चर) मात्र सञ्चालनमा रहेको छ ।

श्री एयरलाइन्सका काठमाडौँका लागि विराटनगरबाट उडेको विमान विराटनगरमै डाइभर्ट गरिएको छ भने भैरहवाबाट काठमाडौँ उडेको अर्को विमान पनि पुनः भैरहवा फर्काइएको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय उडानतर्फ नेपाल एयरलाइन्सको विमान नयाँदिल्ली, इण्डिगो एयरको विमान नयाँदिल्ली र एयर इण्डियाको विमान लखनऊ डाइभर्ट गरिएको छ । हाल त्रिभुवन विमानस्थलमा दृश्यता (भिजिबिलिटी) २,५०० मिटर रहेको जनाइएको छ ।

विमानस्थल कार्यालयका अनुसार इनरुट वेदर कमजोर भएकाले आन्तरिक उडानहरूमा अझै समस्या भइरहेको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेश हुँदै उत्तर–पश्चिम दिशातर्फ सर्दै कमजोर भएको छ । उक्त प्रणालीको प्रभाव नेपालमा समेत देखिएको छ ।

महाशाखाले कात्तिक १५ गतेसम्म बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने अनुमान गरेको छ । मधेस र कोशीका धेरै स्थानमा तथा बाग्मतीका केही भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अनुरोध गरिएको छ ।

प्रकाशित: बिहिबार, कार्तिक १३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय