काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आज पनि जारी रहने भएको छ। राजधानीको मिराकल भेन्युमा बुधबारबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए।
उनले पेश गरेको प्रतिवेदनमा कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट वैचारिक आधार नबनेको अवस्थामा पार्टी एकता सहज नहुने उल्लेख गरिएको छ।
कार्तिक १४ गतेसम्म चल्ने बैठकमा पार्टीको वैचारिक तथा सैद्धान्तिक दृष्टिकोण सम्बन्धी निर्णय, संगठन पुनर्गठनको कार्ययोजना, साथै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा पनि छलफल तथा निर्णय हुने बताइएको छ।


