काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बालुवाटारमा अपराह्न ४ः०० बजे त्रिपक्षीय छलफल हुने भएको छ। यस छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधि सहभागी हुने जनाइएको छ।
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका पदाधिकारी तथा दोस्रो तहका नेताहरू छलफलमा सहभागी हुनेछन्। सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित रहनेछन्।
जेनजी समूहतर्फ ‘इण्डिजिनस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का प्रतिनिधि १४ जना सहभागी हुनेछन्। छलफलमा मुख्य विषय आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको वातावरण निर्माण र राजनीतिक समझदारी जुटाउने रहेको छ।
राजनीतिक दलका सहभागी:
-
नेपाली कांग्रेस : महामन्त्री गगन थापा, प्रवक्ता डा. प्रकाशशरण महत
-
नेकपा (एमाले) : एक पदाधिकारीसहित केन्द्रीय सदस्य महेश बर्ताैला
-
नेकपा (माओवादी केन्द्र) : वर्षमान पुन, माधव सापकोटा
-
राष्ट्रिय स्वतन्त्र पार्टी : उपसभापति स्वर्णिम वाग्ले, केन्द्रीय सदस्य निशा डाँगी
-
राष्ट्रिय प्रजातन्त्र पार्टी : महामन्त्री राजेन्द्र गुरुङ, प्रवक्ता मोहन श्रेष्ठ
सरकारले पहिले पनि चरणबद्ध रूपमा राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफल गर्दै निर्वाचनको तयारीलाई सुनिश्चित गर्दै आएको छ। यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री र जेनजी समूहबीच पनि छलफल सम्पन्न भइसकेको छ।


