काठमाडौँ । सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिका–५ माङ्मयामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। मृतक सोही स्थानका ५२ वर्षीय गणेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो।
मङ्गलबार बेलुकी ४ बजे घर नजिकै नेवारोको घाँस काट्ने क्रममा गुरुङ करिब २० मिटर तल रुखबाट खसेर गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा पुर्याइएका गुरुङको गए राति १२ बजे मृत्यु भएको डीएसपी मैनालीले बताउनुभयो।
गुरुङको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी चिचिलाबाट करिब १२ किलोमिटर टाढा पर्छ।


