काठमाडौँ । भारतको आन्ध्र प्रदेशतर्फ अगाडि बढिरहेको बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव नेपालमा समेत पर्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
कोशी र बागमती प्रदेशका केही उच्च भूभागमा भने भारी हिमपात हुने संभावना समेत रहेको विभागले जनाएको छ । सोही अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने देखिएको छ । ती नदीहरू सतर्कता तह नजिक पुग्ने सम्भावना रहेकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
यस्तै कोशी, बागमती र मधेश प्रदेशका महाभारत तथा चुरे क्षेत्र भएर बग्ने स–साना नदीनालामा पनि आकस्मिक बहाव हुन सक्ने चेतावनी दिइएको छ । विशेषगरी काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा जोखिम उच्च रहने अनुमान गरिएको छ ।
संभावित वर्षा र हिमपातका कारण नदीनालामा आकस्मिक बहाव, पहिरो तथा सडक–हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने विभागले चेतावनी दिएको छ ।
हाल ‘मोन्था’ चक्रवात भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र त्यसपछि यसको प्रभाव विस्तारै कमजोर हुँदै उत्तर–उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रको रूपमा नेपालको मध्य भूभाग नजिक आइ पूर्वतर्फ सर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
मौसमविद्हरुले भोलिदेखि शनिवारसम्म लामो दूरीको यात्रा नगर्न तथा आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन् ।


