काठमाडौँ । पश्चिमी वायु र अरब सागरबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण मनाङ र मुस्ताङमा आज दिनभरि भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पछिल्लो २४ घण्टामा मनाङको चामेमा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा अभिलेख भएको हो। ५० मिलिमिटरभन्दा बढी वर्षालाई ‘भारी वर्षा’को श्रेणीमा राखिन्छ।
विभागका अनुसार अन्य जिल्लाहरूमा पनि मध्यमदेखि सामान्य वर्षा भइरहेका छन्। उपलब्ध अभिलेखअनुसार डोल्पाको दुनैमा ३६ मिलिमिटर, जुम्लामा १३ मिलिमिटर, बागलुङ र पर्वतमा २४, प्यूठानमा २१.८, सिन्धुपाल्चोकमा २९.६, चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा जारी छ। काठमाडौं उपत्यकामा चिसोका कारण तापक्रम घटेको भए पनि वर्षा भने हल्का मात्र भएको विभागले जनाएको छ।
आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्हरूको चेतावनी छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले निरन्तर मौसम प्रभावित भइरहेकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेकी छन्।


