कैलालीका किसान सरकारले तोकेको धानको समर्थन मूल्यमा बिक्री गर्न पर्खिरहेका छन्।
टीकापुर नगरपालिका–४ का किसान बन्धुराम डगौराले केही धान घरायसी खर्चका लागि प्रतिक्विन्टल रु २,५०० मा बिक्री गरे पनि बाँकी धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बेच्ने तयारीमा राखेका छन्।
“खाद्यले समयमा खरिद गरेको भए सस्तोमा बिक्री गर्नुपर्ने थिएन,” उनले गुनासो गरे।
खाद्य कम्पनीले समयमा धान खरिद नगर्दा धेरै किसान आर्थिक समस्यामा परेका छन्। भण्डारण अभाव र घर खर्चका कारण किसानहरू बाध्य भएर सस्तोमा धान बेच्न थालेका छन्।
भजनी–३ का किसान श्रवण थारुका अनुसार, “३०–४० क्विन्टल धान हुन्छ, तर राख्ने ठाउँ छैन, त्यसैले सस्तोमै बेच्नुपर्छ।”
किसान जयप्रसाद ढुंगानाले भने, “सरकारले समर्थन मूल्य तोके पनि समयमा खरिद गर्दैन, किसानको समस्या खेती गर्दा पनि हुन्छ, बिक्री गर्दा पनि।”
कतिपय किसानले अझै धान खेतमै थुपारेर खाद्य कम्पनीको पर्खाइमा राखेका छन्। भजनीका किसान जितबहादुर चौधरीले भने, “खाद्यले समयमा धान खरिद गरेको कहिल्यै देखिएको छैन, फेरि सस्तोमै बेच्नुपर्ने हुन्छ।”
धान खरिदमा ढिलाइ भएपछि किसानको असन्तुष्टि बढेपछि स्थानीय प्रशासनले चासो देखाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसहित सरोकारवालाको बैठकले कात्तिक ११ गतेभित्र धान खरिद सुरु गर्न र कोटा बढाउन खाद्य कम्पनीलाई आग्रह गर्ने निर्णय गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको मूल्यमा टीकापुर, सत्ती, जोशीपुर, भजनी, गौरीगङ्गा र धनगढी मोहनपुरका डिपोमार्फत धान खरिद गर्ने तयारी गरिरहेको छ।
तर, कम्पनीका धनगढी प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाका अनुसार, केन्द्रबाट कोटा निर्धारणसहितको परिपत्र नआएकाले खरिद सुरु हुन सकेको छैन। “परिपत्र आउनासाथ खरिद सुरु हुनेछ,” उनले बताए।
यस वर्ष सरकारले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३,४६३.८१ र मध्यम धानको मूल्य रु ३,६२८.३३ तोकेको छ।


