आगामी निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको भनाइ : निष्पक्ष र सफल बनाऔँ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी सफल बनाउन सबै पक्षलाई आह्वान गरेकी छन्।

छठ पर्वको अवसरमा आज जारी शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले निर्वाचनलाई लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने बताएकी हुन्।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, “आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु।”

सन्देशमा उनले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आगामी निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व सबैकहाँ रहेको उल्लेख गरेकी छन्। परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचनलाई सफल पार्न सबै जुट्नुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीले “सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन” भन्दै असन्तुष्टि र मागहरू शान्तिपूर्ण तवरले राखी जनताको समर्थनबाट अनुमोदित गराउनु नै लोकतन्त्रको सर्वोत्तम विधि भएको उल्लेख गरेकी छन्।

छठ पर्वका प्रसङ्गमा उनले यो पर्व सामाजिक एकता, सद्भाव र भ्रातृत्वको प्रतीक भएको बताउँदै अहिलेको अवस्थामा सबै नेपालीबीच अझ ठूलो एकता र सद्भाव आवश्यक रहेको पनि जोड दिएकी छन्।

सन्देशमा भनिएको छ, “पवित्र आस्था, कठिन व्रत र सिङ्गारिएका नदी–तलाउका किनारामा मनाइने यस पर्वले सबैमा सद्भाव र खुसियाली फैलाओस्।”

प्रधानमन्त्री कार्कीले छठ पर्व सत्य, अहिंसा र प्रकृतिप्रेममा प्रेरित गर्ने पर्व भएको उल्लेख गर्दै, यसले तराई र पहाडबीचको सांस्कृतिक तथा सामाजिक सेतुका रूपमा भूमिका खेलिरहेको बताएकी छन्।

प्रकाशित: सोमबार, कार्तिक १०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय