प्रधानमन्त्री सुशीला कार्कीको आह्वान: ‘आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा सफल बनाऔं’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न सबैलाई आह्वान गरेकी छिन् ।

छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले सूर्य आराधनाको यो पर्वले दिने अनुशासन, एकता र श्रद्धाबाट प्रेरणा लिएर आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउन र त्यसलाई सफल बनाउन सबै पक्षलाई आग्रह गरेकी हुन् ।

उनको सन्देशमा भनिएको छ, “आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबैलाई आह्वान गर्दछु।”

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु देशको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले सबै पक्षले परिस्थिति र आफ्नो जिम्मेवारीको गम्भीरता बुझेको हुनुपर्ने बताएकी छिन् ।

प्रधानमन्त्री कार्कीले सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन भन्दै असन्तुष्टि वा अडानहरू शान्तिपूर्ण रूपमा राखी जनताको विश्वास जितेर निर्वाचनमार्फत अनुमोदन गराउनु लोकतान्त्रिक प्रणालीको सर्वोत्तम अभ्यास भएको उल्लेख गरेकी छिन् ।

छठसहित हाम्रा पर्वहरूले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको सन्देश दिने भएकाले वर्तमान परिस्थितिमा अझ बढी एकता र मेलमिलाप आवश्यक रहेको उनको भनाइ छ ।

सन्देशमा उनले भनेकी छिन्, “पवित्र आस्था, कठिन व्रत र सिँगारिएका नदी–तलाउका किनाराहरूले दिने सकारात्मक ऊर्जाले सबैमा सद्भाव र खुसियाली छाओस् ।”

प्रधानमन्त्री कार्कीले छठ पर्व सत्य, अहिंसा र प्रकृति प्रेममा प्रेरित गर्ने तथा तराई–पहाडबीचको सांस्कृतिक र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउने सेतुका रूपमा स्थापित हुँदै आएको पनि उल्लेख गरेकी छिन् ।

प्रकाशित: सोमबार, कार्तिक १०, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय