प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली लुकाइराख्ने दुई किशोर पक्राउ

काठमाडौँ । गत भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको पेस्तोलका गोली लुकाइराखेको आरोपमा दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिया बढैया गाउँपालिका–३ घर भई हाल काठमाडौँ कपन बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई हाल काठमाडौँ मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर छन्।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार, प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित चेकजाँचका क्रममा शङ्कास्पद अवस्थामा फेला परेका गिरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा गोली फेला परेको हो। सोधपुछका क्रममा गिरी र उनका साथी थापामगर दुबैजनाले दरबारमार्ग प्रहरी वृत्तबाट लुटिएको गोली लुकाएको स्वीकारेका थिए।

गिरीको लाजिम्पाटस्थित कोठा खानतलासी गर्दा “३११२३” लेखिएको पेस्तोलका तीन थान गोली फेला परेका थिए। त्यस्तै, थापामगरको मालिगाउँस्थित कोठा खानतलासी गर्दा सोही नम्बरका दुई थान गोली र छालाको बेल्टको बक्कल बरामद भएको प्रहरीले जनाएको छ।

दुवैलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त दरबारमार्गमा पठाइएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले जानकारी दिएका छन्।

प्रकाशित: आइतबार, कार्तिक ०९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय