काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष भोजपुरी भाषामा शपथ लिएका हुन्।
प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाँच दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा सोनललाई बुधबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।


