काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई पुनः जनताको विश्वास प्राप्त गरी मुलधारको शक्तिको रूपमा स्थापित गर्ने प्रतिवद्धता जनाएका छन्।
शुक्रबार बिहान चितवनको भरतपुर–कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (जहाँ हालै पार्टी कार्यालय भवनमा आगजनी गरिएको थियो) आयोजित भेटघाट तथा कार्यकर्ता सम्बोधन कार्यक्रममा संयोजक प्रचण्डले हालैको जेनेरेसन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन र वाम एकता लगायत विषयमा आफ्नो धारणा सार्वजनिक गरे।
प्रचण्डले सामाजिक सञ्जालमार्फत संगठित भएर अघि बढेको युवाको आन्दोलनलाई “नयाँ राजनीतिक चेतना”को संकेतका रूपमा लिँदै, यो आन्दोलन माओवादीका विगतका मागहरूसँग मेल खाने बताए।
उनी बोले, “युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्। भ्रष्टाचारविरुद्ध उठेको आवाज माओवादीको ऐतिहासिक एजेन्डासँग जोडिएको हो, जुन गर्वको विषय हो।”
२३ गतेको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे बोल्दै उनले सरकारको सुरक्षा संयन्त्रमा देखिएको गम्भीर लापरवाहीलाई मुख्य कारण ठहर गरे।
उनले भने, “युवाहरूको आन्दोलन पूर्ण शान्तिपूर्ण थियो, तर सरकार संवेदनशीलतापूर्वक व्यवहार गर्न असफल रह्यो। कलेज ड्रेसमा रहेका युवामाथि गोली चलाउनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद घटना हो।”
प्रचण्डले उक्त घटनापछि माओवादी केन्द्रले राति नै आकस्मिक बैठक बसेर आन्दोलनका मृतकहरूलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन समिति गठन गर्ने, र प्रधानमन्त्रीको राजीनामाको माग गर्ने निर्णय गरेको बताए।
उनका शब्दमा, “हामीले आन्दोलनलाई वैधानिकता दियौं, प्रतिपक्षी दलहरूसँग सहकार्य गरेर देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउने पहल गर्यौं।”
२४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठकपछि सुरक्षा जोखिमका कारण आफूले स्वेच्छाले सेनाको समन्वयमा सुरक्षित स्थानमा रहनुपर्ने अवस्था आएको उनले स्पष्ट गरे।
“हामीलाई कसैले लिएको होइन, परिस्थिति मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रको सहायतामा सुरक्षित स्थानमा गएका हौं,” उनले जोड दिए।
देशको वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै उनले भने, “अब निर्वाचनबाहेक कुनै विकल्प छैन। राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्तर्राष्ट्रिय समुदायसम्म सबैको निष्कर्ष यही हो—देशको समाधान निर्वाचनमै छ।”
उनले संसद पुनःस्थापना सम्भव भए पनि त्यो एजेन्डा गौण बनिसकेको र एमालेबाहेकका सबै दल चुनावका पक्षमा रहेको जानकारी दिए।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने, “ओलीको नेतृत्वमा भएका गलत निर्णयका कारण ठूलो जनधनको क्षति भयो, तर आज पनि आत्मसमिक्षा छैन।”
पार्टी एकताको सन्दर्भमा प्रचण्डले लामो समयदेखि छलफलमा रहेको वाम एकता अब निष्कर्षमा पुग्ने जानकारी दिए।
उनले भने, “पहिलो चरणमा समाजवादी मोर्चाभित्र एकता घोषणा हुँदैछ, र दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकजुट बनाउने हो।”
प्रचण्डले हालैका विश्लेषकहरूको हवाला दिँदै माओवादी केन्द्र आगामी निर्वाचनमा अग्रस्थानमा आउने सम्भावना बलियो रहेको दाबी गरे।
“तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन व्यापक छ,” उनले भने।
कार्यकर्ताहरूलाई निर्वाचन तयारीमा जुट्न आग्रह गर्दै उनले निष्कर्ष टेके,
“माओवादी केन्द्र अब फेरि जनताको विश्वास जितेर मुलधारको पार्टी बन्नेछ। अब हाम्रो प्राथमिक कार्य निर्वाचन हो, र त्यो जनताको पक्षमा परिवर्तन ल्याउने अवसर पनि हो।”


