काँग्रेस माओवादी निर्वाचनबाट पछि हट्ने छैनन्, एमालेको केन्द्रबिन्दु संसद् पुनःस्थापना

काठमाडौँ । सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे विभिन्न दलसँग छलफल तथा परामर्श गर्नुभएको छ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा आज आयोजित बैठकमा दलका प्रतिनिधिहरूले आफ्नो–आफ्ना दलको दृष्टिकोण र धारणा राख्नुभयो। सभामुख घिमिरेले हालको परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षामा आफ्नो महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै त्यसका लागि सबै दलको सहयोग आवश्यक रहेको अपेक्षा गर्नुभयो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेस लोकतान्त्रिक दल भएकाले निर्वाचनबाट पछि हट्ने विचार नभएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “प्रतिनिधिसभा विघटनको संवैधानिक अन्तिम व्याख्या सर्वाेच्च अदालतले गर्नेछ। वर्तमान परिस्थितिमा निर्वाचनबाट हामी पछि हट्दैनौं।”

एमालेका तत्कालीन मुख्य सचेतक महेशकुमार बर्तौलाले संसद् विघटनबारे अदालतमा निवेदन परिसकेको र त्यसको व्याख्या आवश्यक निर्णयसहित सर्वाेच्च अदालतले गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले जेनजी आन्दोलनका क्रममा उठेका जायज माग संसद्मार्फत संशोधन गरेर ताजा जनादेशमार्फत मुलुक अघि बढाउन सकिने धारणा राख्नुभयो। साथै, संसद् पुनःस्थापनाबाट राजनीतिलाई मूलधारमा ल्याउन सकिने एमालेको दृष्टिकोण रहेको उल्लेख गर्नुभयो।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले सरकारले उपयुक्त वातावरण बनाएमा आफ्नो पार्टी निर्वाचनमा जाने निर्णय गरिसकेको जानकारी दिनुभयो। उहाँले निर्वाचनले मात्र वर्तमान राजनीतिक स्थितिलाई मूलधारमा फर्काउन सक्ने विश्वास व्यक्त गर्नुभयो।

छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतकहरू सहभागी थिए।

प्रकाशित: बुधबार, आश्विन २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय