पार्टी नीति र कार्यक्रममाथि छलफल गर्न एमालेको केन्द्रीय कमिटी बैठक आरम्भ

काठमाडौँ । नेकपा (एमाले)को दशौँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ।

जेनजी आन्दोलन, प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनपछिको विशेष राजनीतिक परिस्थितिका बीच बसेको यो बैठक पार्टीका लागि महत्वपूर्ण मानिएको छ। बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक संघर्षको परिणाम भएको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिर उचाल्ने पार्टी एमाले मात्रै भएको बताउनुभयो। उहाँले लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय र समृद्धिको मार्गमा मुलुकलाई अघि बढाउन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन्। यसअघि असोज २६ गते सम्पन्न केन्द्रीय सचिवालय बैठकले आउँदो मङ्सिर अन्त्यतिर पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो।

समसामयिक प्रस्ताव तयार गर्न उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम र महेश बर्तौला रहेको समिति गठन गरिएको छ। बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्ने अवसर दिने र बहसका नोट व्यवस्थापनको जिम्मेवारी पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य विष्णु रिजाल र निरज आचार्यलाई तोकिएको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो।

बैठकमा अध्यक्ष ओलीले गत भदौ २२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनबाट निर्वाचित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालाई पद तथा गोपनीयताको शपथ पनि गराउनुभयो।

प्रकाशित: बुधबार, आश्विन २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय