काठमाडौँ । अमेरिकी पासपोर्ट पहिलोपटक दुई दशकपछि विश्वका सबैभन्दा शक्तिशाली पासपोर्टहरूको शीर्ष १० सूचीबाट बाहिरिएको छ। हेनले एण्ड पार्टनर्सले प्रकाशित गरेको हेनले पासपोर्ट इन्डेक्स २०२५ अनुसार, अमेरिका अब १२औं स्थानमा झरेको छ, जुन मलेसियासँग बराबरीको स्थितिमा छ। अमेरिकी पासपोर्टधारी नागरिकले विश्वका २२७ मध्ये १८० देशमा भिसा बिना प्रवेश पाउने सुविधा पाउँछन्।
यस वर्ष सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली ठहरिएको छ, जसले १९३ देशमा भिसा बिना प्रवेशको सुविधा दिन्छ। त्यसपछि दक्षिण कोरिया १९० देश र जापान १८९ देशमा भिसामुक्त प्रवेशसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
इन्डेक्स अनुसार, नेपालको पासपोर्ट १०१औं स्थानमा यथावत छ भने भारतको पासपोर्ट ७७औं स्थानमा पुगेको छ। सन् २०२५ को पहिलो त्रैमासिकको तुलनामा भारतले ८ स्थान सुधार गरेको हो। हाल भारतका नागरिकले ५९ देशमा र नेपालका नागरिकले ३६ देशमा अनअराइभल भिसा पाउने सुविधा पाउँछन्।
सूचीमा नेपालभन्दा पछाडि सोमालिया, पाकिस्तान, यमन, इराक, सिरिया र अफगानिस्तान रहेका छन्।


