पर्सामा हैजा विरुद्धको खोप अभियान: २१ हजार १९६ जनालाई खोप लगाइयो

काठमाडौँ । पर्सामा हालसम्म २१ हजार १९६ जनालाई हैजा विरुद्धको खोप प्रदान गरिएको छ। वीरगञ्ज, पोखरिया, जगरनाथपुर, सखुवा–प्रसौनी र धोवीनीका पाँच स्थानीय तहमा खोप अभियान सञ्चालन भएको हो।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार, जिल्लामा ६ लाख ५२ हजार लक्षित जनसङ्ख्या रहेकोमा हालसम्म २१ हजार १९६ जनाले खोप पाएका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा खोप वितरण यस प्रकार छ: जगरनाथपुर १७५, सखुवा–प्रसौनी ४,९९९, वीरगञ्ज ९,५१३, पोखरिया ४,८७६ र धोवीनी २,५३३।

आइतबार प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले खोप लगाएर अभियानको उद्घाटन गर्नुभएको थियो। सरकारले हैजाको उच्च जोखिमलाई ध्यानमा राख्दै पर्सा र बारामा खोप अभियान सञ्चालन गरेको हो।

गत भदौ ६ गते पर्साको वीरगञ्ज–१२ मुरली टोलबाट देखिएको हैजा रोगका कारण हालसम्म पर्सा र बारामा १,६८५ जना बिरामी फेला परेका छन्। स्वास्थ्य सेवा विभागले पर्सा र बाराका लागि १० लाख १८ हजार एक सय मात्रा खोप उपलब्ध गराइसकेको छ। पर्साको १४ र बाराका ६ स्थानीय तहमा अभियान जारी रहनेछ। डा. गौतमका अनुसार हालसम्म सबै जनाले खोप लिन इच्छुक रहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित: सोमबार, आश्विन २७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय