काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि कोरियाली राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गर्नुभएको छ।
आज मन्त्रालयमा भएको भेटमा राजदूत पार्कले मन्त्री घिसिङलाई कोरियाका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
भेटका क्रममा मन्त्री घिसिङले नेपाल–कोरिया बीच आर्थिक सहकार्य र ऊर्जा क्षेत्रमा सहयोगबारे चर्चा गर्नुभएको थियो। उहाँले ऊर्जा सन्तुलन कायम राख्न र विद्युत् निर्यातका लागि ५०० मेगावाटभन्दा ठूला जलाशययुक्त जलविद्युत् आयोजना आवश्यक भएको भन्दै त्यसमा सहयोगको आग्रह गर्नुभयो। त्यसैगरी, दुई देशको सरकारी साझेदारी वा कोरियाली निजी कम्पनीको लगानीमार्फत हरित हाइड्रोजन उत्पादनको नमूना परियोजना विकास गरी मलखाद उत्पादन र सार्वजनिक यातायातमा प्रयोग गर्न पनि अनुरोध गर्नुभयो।
मन्त्री घिसिङले कोरिया जाने नेपाली श्रमिकको कोटा वृद्धि, प्रस्थानअघि सीप तालिम र फर्किएपछि त्यही सीपको प्रयोग गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न सहयोगको माग गर्नुभयो। साथै, अरुण नदी करिडोर र पूर्व–पश्चिम प्रसारण लाइन जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन, रेलमार्ग निर्माण, सञ्चालन र मर्मत क्षमता विस्तारका लागि कोरियाली सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
भेटमा राजदूत पार्कले रसुवामा निर्माणाधीन २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रगतिका बारेमा जानकारी दिनुभएको थियो। आयोजनाको निर्माण प्रगति झण्डै ७० प्रतिशत पुगेको र डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने (ब्रेक थ्रू) तयारी रहेको जानकारी दिनुभयो। उहाँले नेपाल विद्युत् प्राधिकरण र सरकारको सहयोगका लागि धन्यवाद पनि व्यक्त गर्नुभयो।
राजदूत पार्कले नेपालको ऊर्जा क्षेत्रको विकासमा कोरियाली कम्पनीको सहभागिता बढाउन निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा सेमिनार आयोजना गर्ने योजना र प्रसारण लाइन निर्माणमा आर्थिक सहायता उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको जानकारी पनि दिनुभएको थियो।


