काठमाडौँ । इजरायलमा हमासद्वारा नियन्त्रणमा परेका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ। इजरायली रक्षा बल (आईडीएफ) का एक अधिकारीले आज स्थानीय समय अनुसार बिहान साढे ७ बजे विपिनको निधन भएको औपचारिक जानकारी दिएका हुन्।
उक्त जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायली प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई भिडियो कन्फरेन्समार्फत् दिइएको राजदूत पण्डितले बताएका छन्।
पण्डितका अनुसार, “आईडीएफका अधिकारीले हामीलाई विपिन इज नो मोर भनेर औपचारिक रूपमा जानकारी दिए।”
अमेरिकाको पहलमा इजरायल र हमासबीच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित तथा मृतक बन्दीहरूलाई रिहा गर्ने कार्यक्रम रहेको बताइएको छ। तर, रिहा गर्न लागिएका २० जनाको सूचीमा विपिनको नाम समावेश छैन।
विपिनको अवस्थाबारे थाहा पाउन उनका आमा र बहिनी केही समयअघि सरकारी सहयोगमा इजरायल पुगेका थिए। उनीहरू हाल अमेरिकामा छन्।


