हमासको नियन्त्रणमा रहेका जीवित बन्धकमध्ये नेपाली युवक विपीन जोशी पनि रहेको इजरायलको दाबी

काठमाडौँ । इजरायलले जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिकका रूपमा विपिन जोशीको नाम पनि समावेश भएको छ । उहाँको कथा अहिले इजरायल र नेपाल दुवै देशमा पीडा, आशा र मानवताको प्रतीक बनेको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि भएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । उक्त आक्रमणमा करिब १,२०० जनाको ज्यान गएको र २५१ जना अपहरणमा परेको इजरायली अधिकारीहरूले जनाएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ, जसमा झन्डै आधा महिला र बालबालिका रहेका छन् ।

हाल गाजामा ४८ जना बन्धकहरू रहेको इजरायली पक्षको दाबी छ, जसमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । कम्तीमा २५ जनाको मृत्यु पुष्टि भइसकेको भए पनि बाँकी २० जना मध्ये कति जीवित छन् भन्ने यकिन छैन । तिनै बन्धकमध्ये २४ वर्षीय नेपाली विद्यार्थी विपिन जोशी पनि रहेका छन्, जसलाई जीवित रहेको विश्वास गरिएको छ ।

विपिन जोशी आक्रमण हुनुभन्दा एक महिना अघि मात्रै कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत नेपालबाट इजरायल पुगेका थिए । उहाँ गाजाको सीमामा अवस्थित किबुट्ज अलुमिममा कार्यरत हुनुहुन्थ्यो । सोही कार्यक्रममा सहभागी १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा मृत्यु भएको थियो । ती विद्यार्थीहरू बम आश्रयमा लुकेका बेला फ्याँकिएको ग्रेनेड विस्फोट हुँदा विपिन घाइते भई अपहरणमा परेका थिए ।

विपिनका परिवार अझै उहाँ जीवित रहेकोमा दृढ छन् । उहाँकी १७ वर्षीया बहिनी पुष्पा जोशीले दाजुको रिहाइका लागि निरन्तर प्रयास गर्दै आउनुभएको छ । दाजुको उद्धारका लागि उहाँ हरेक हप्ता पश्चिम नेपालको गाउँबाट आठ घण्टा बस यात्रा गरी काठमाडौँ पुगेर अधिकारी र कूटनीतिज्ञहरूसँग भेटघाट गर्न पुग्ने गर्नुभएको छ ।

गत अगस्टमा जोशी परिवारले इजरायलका राष्ट्रपति आइज्याक हर्जोगलाई भेट्न र तेल अभिवस्थित ‘होस्टेज स्क्वायर’ मा बन्धक परिवारहरूले आयोजना गर्ने प्रदर्शनमा पनि सहभागिता जनाएका थिए । उनीहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग विपिनको उद्धारका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै आएका छन् ।

इजरायली अधिकारीहरूले युद्धविराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेका छन् । यसको सटहीमा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ ।

विपिनका साथीहरूका अनुसार उनी अध्ययनशील, मिलनसार र सहयोगी स्वभावका थिए । कृषि क्षेत्रमा केही नयाँ योगदान दिने सपनाका साथ इजरायल पुगेका विपिन अहिले पनि गाजामा जीवित रहेको विश्वास गरिएको छ । विपिनको परिवार भने अझै पनि आशाको झिल्को निभ्न नदिई उहाँको सुरक्षित फिर्तीको प्रतीक्षामा छ ।

परिवारका शब्दमा, “विपिन फर्किए भने त्यो केवल हाम्रो परिवारको जित होइन, यो नेपाल र सम्पूर्ण मानवताको जित हुनेछ ।”

प्रकाशित: आइतबार, आश्विन २६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय