मन्त्री खरेलको भनाइ : काउन्सिलले स्वायत्तता र जिम्मेवारीको अनुभूति दिलाउने गरी काम गरोस

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रेस काउन्सिल नेपाललाई अधिकार सम्पन्न र स्वायत्त निकायको रूपमा आम जनतामा अनुभूति दिलाउने गरी काम गर्न सुझाव दिनुभएको छ ।

प्रेस काउन्सिल नेपालद्वारा आज आयोजित स्वागत कार्यक्रममा मन्त्री खरेलले आउँदो आम निर्वाचनको तयारीसँगै राजनीतिक गतिविधि तीव्र बन्दै गएको समयमा काउन्सिलले परिणाममुखी र जिम्मेवार ढङ्गले काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले नागरिकस्तरबाट सञ्चालन भइरहेका व्यक्तिगत सामाजिक सञ्जालहरूको प्रभाव बढ्दै गएको उल्लेख गर्दै ती माध्यमलाई राज्यका निकायले अनुगमन, नियमन र आवश्यक परे कारबाहीको दायरामा ल्याउन काउन्सिल गम्भीर हुनुपर्ने बताउनुभयो । साथै, मुलुकमा दर्ता भई काउन्सिलमा सूचीकृत सञ्चार माध्यमहरूको जिम्मा राज्यले लिनुपर्ने समय आएको पनि उहाँको भनाइ थियो ।

“प्रेस काउन्सिल आम सञ्चार माध्यमको न्यायालय हो भन्ने मान्यता स्थापित गर्न आवश्यक छ,” मन्त्री खरेलले भन्नुभयो, “विज्ञान र प्रविधिको तीव्र विकाससँगै कानुनलाई समयानुकूल अद्यावधिक गर्न नसक्दा अनेक समस्या र चुनौती उत्पन्न भएका छन् । सामाजिक सञ्जालमा मिथ्या, घृणाजन्य र भ्रामक सामग्री फैलिने क्रम रोक्न राज्यका निकायहरू सचेत रहनुपर्छ ।”

मन्त्री खरेलले नेपालमा दर्ता भएका सामाजिक सञ्जालहरूको नियमनका विषयमा जनचेतनामूलक सन्देश प्रवाह गर्न काउन्सिललाई आग्रह गर्नुभयो । साथै, काउन्सिलले आवश्यक जनशक्ति, प्रविधि र उपकरणको अध्ययन गरी कार्यदल गठन गरेर छिटो परिणाममुखी कदम चाल्नुपर्ने सुझाव दिनुभयो ।

आचारसंहिताको कार्यान्वयनमा प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिँदै उहाँले भने, “प्रेस काउन्सिल स्वतन्त्र र स्वायत्त निकाय हो । मन्त्रालयले हस्तक्षेप गर्दैन, तर नीतिगत निर्णय र सहयोगका लागि सधैं तत्पर छ ।”

मन्त्री खरेलका अनुसार काउन्सिलले सरकार, नागरिक र सरोकारवाला निकायको अपेक्षाअनुसार स्वतन्त्र, निष्पक्ष र सक्रिय रुपमा काम गरिरहेको सन्देश प्रवाह गर्न सक्षम हुनुपर्छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले काउन्सिलका आवश्यकताअनुसार सबै खाले सहयोग उपलब्ध गराइने आश्वासन दिनुभयो । त्यस अवसरमा काउन्सिलका सदस्य एवम् अध्यक्ष बालकृष्ण अधिकारीले जनशक्ति र बजेटको सीमितताबीच पनि काउन्सिलले आफ्नो दायित्व पूरा गर्दै आएको बताउनुभयो ।

त्यसअघि काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुषालले संस्थाको वर्तमान अवस्था र कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो ।

प्रकाशित: आइतबार, आश्विन २६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय