जेनजी आन्दोलनका क्रममा घाइते भएकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहनुभएका नेता खनालले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै हालका साना–ठूला सबै दल र आफ्नै पार्टीभित्र समेत नयाँ वैचारिक, संगठनात्मक र नीतिगत दिशामा पुनर्गठन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले लेख्नुभएको छ, “अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट अघि बढाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ । हरेक साना–ठूला दल र जेनजी समूहभित्र उथलपुथल र विभाजन देखिँदैछ, जसले सबैलाई पुनर्गठन र रूपान्तरणको दिशातर्फ उन्मुख हुन बाध्य बनाएको छ । यो समय र युग दुवैको माग हो ।”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग एकीकरणका चर्चाबीच नेता खनालले अहिले कुनै पनि दलसँग एकीकरण गर्ने समय नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यो कसैसँग पार्टी एकीकरण गर्ने समय होइन । हामीले गलत बाटो रोज्दै भड्खालोतर्फ लाग्ने गल्ती दोहोर्याउन हुँदैन ।”
साथै, उहाँले आफ्नै दलले पछिल्ला चार वर्षको समग्र समीक्षा गरी नवौं राष्ट्रिय महाधिवेशनमा उठाइएका युवा आवाज र कार्यविधिलाई प्राथमिकतामा राख्दै पार्टीलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सबै वामपन्थी र कम्युनिष्ट शक्तिहरूलाई एकजुट गर्दै बृहत् राष्ट्रिय मोर्चा निर्माणमार्फत आगामी प्रतिनिधिसभा निर्वाचनमा खटिनुपर्ने पनि उहाँको धारणा रहेको छ ।


