काठमाडौँ । सिराहामा आज बिहान बसबाट खसेर सहचालकको मृत्यु भएको छ। घटना धनगढीमाई नगरपालिका–९ जिरोमाइल नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको यात्रुवाहक बसमा भएको हो।
प्रहरीका अनुसार ना.७ ख २६५ नम्बरको बसका सहचालक लहान नगरपालिका–१ निवासी २१ वर्षीय पवनकुमार यादव बसको पछाडिको चक्काले किचिँदा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल नजिकैको प्रादेशिक अस्पताल लहान पुर्याइएको भए पनि बिहान ११:५५ बजे चिकित्सकले मृत घोषित गरेका थिए।
घटनापछि बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी हाल अस्थायी प्रहरी चौकी कसहा, सिराहाको नियन्त्रणमा रहेका छन् र घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ।


